म्हेन्दोमायाको पुनर्जागरण : तामाङ लोकसंगीतमा राजु लामाको ऐतिहासिक प्रवेश

म्हेन्दोमायाको पुनर्जागरण : तामाङ लोकसंगीतमा राजु लामाको ऐतिहासिक प्रवेश
‘छन्त परेको’मार्फत पहिलो पटक म्हेन्दोमाया भाका-लयमा स्वर दिए राजु लामाले, मौलिक तामाङ सांस्कृतिक पहिचान संरक्षणतर्फ महत्वपूर्ण कदम
परम्परा, पहिचान र पुनर्जागरणको कथा

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो। यही विविधताभित्र तामाङ समुदायको सांस्कृतिक पहिचान, जीवनदर्शन र मौलिक कला–संस्कृतिले विशेष स्थान ओगटेको छ। तामाङ समुदायको लोकजीवन, सामाजिक संरचना, संस्कार र सामूहिक चेतनालाई अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम म्हेन्दोमाया हो ।यो केवल गीत–नृत्यको विधा मात्र नभई, तामाङ समुदायको इतिहास, संघर्ष, प्रेम, प्रकृतिसँगको सम्बन्ध र सामूहिक स्मृतिको जीवन्त दस्तावेज पनि हो।
यही मौलिक विधालाई आधुनिक पुस्तासम्म पुनः जीवित बनाउने प्रयासस्वरूप हालै सार्वजनिक भएको गीत ‘छन्त परेको’ ले सांगीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। विशेषत, तामाङ समुदायका सर्वाधिक लोकप्रिय र स्थापित गायक राजु लामा (ज्यो-ज्यो) ले पहिलो पटक म्हेन्दोमायामा स्वर दिनु स्वयंमा ऐतिहासिक उपलब्धि मानिएको छ।


म्हेन्दोमाया : तामाङ लोकसंगीतको आत्मा
म्हेन्दोमाया तामाङ समुदायको प्राचीन लोकगायन तथा नृत्य विधा हो। यस विधाको उत्पत्ति तामाङहरूको सामूहिक श्रम, पर्व–उत्सव, प्रेम र सामाजिक संवादसँग गहिरो रूपमा गाँसिएको छ। विशेषगरी नुवाकोट, धादिङ र रसुवा जिल्लाका तामाङ बस्तीहरूमा म्हेन्दोमाया पुस्तौँदेखि मौखिक परम्परामार्फत हस्तान्तरण हुँदै आएको छ।
लोकसंस्कृति अध्येता गोपाल फ्युबाका अनुसार,’म्हेन्दो तामाङ समुदायको सामूहिक चेतना हो। यसले उनीहरूको जीवनशैली, भावनात्मक सम्बन्ध र सामाजिक संरचनालाई संगीतमार्फत अभिव्यक्त गर्छ।’
पहिले खेतबारीमा काम गर्दा, मेलापातमा, विवाह–उत्सवमा तथा सामूहिक जमघटमा गाइने म्हेन्दोमाया पछिल्लो समय आधुनिक संगीतको चापमा ओझेलमा पर्दै गएको थियो। तर, ‘छन्त परेको’जस्ता सिर्जनाले यस विधालाई पुनः मूलधारमा ल्याउने संकेत दिएको छ।
राजु लामा : आधुनिक लोकप्रियताबाट मौलिकतासम्मको यात्रा
राजु लामा नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो। आधुनिक तामाङ पप, लोक–आधुनिक र समसामयिक गीतमार्फत लाखौँ श्रोतालाई आकर्षित गर्न सफल उनले यसअघि पनि थुप्रै हिट गीतहरू दिएका छन्। तर, म्हेन्दोमायामा स्वर दिनु उनको करियरको नयाँ मोड हो।
सांगीतिक विश्लेषकहरूका अनुसार, लोकप्रिय कलाकारले मौलिक र परम्परागत विधामा प्रवेश गर्नु भनेको केवल व्यक्तिगत प्रयोग मात्र होइन, सांस्कृतिक उत्तरदायित्वको अभिव्यक्ति पनि हो। राजु लामाको सहभागिताले म्हेन्दोमाया विधालाई नयाँ पुस्तासम्म पुर्‍याउने सम्भावना झनै बलियो बनेको छ।


‘छन्त परेको’ : शब्द, संगीत र आत्माको संगम
गीत ‘छन्त परेको’ को शब्द तथा संगीत रोशन फ्युबा तामाङले तयार गरेका हुन्। गीतमा तामाङ समुदायको भावनात्मक अभिव्यक्ति, प्रकृतिप्रतिको संवेदना र प्रेमिल संवादलाई अत्यन्तै सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको छ।
गीतमा राजु लामासँगै रमला पाख्रिनको स्वरले सन्तुलन र मिठास थपेको छ। लक्ष्मी स्याङतान समूहमार्फत प्रस्तुत गरिएको यो गीतमा परम्परागत बाजा टुङ्नाको प्रयोगले मौलिक स्वादलाई अझ सशक्त बनाएको छ। टुङ्ना वादनमा प्रभात लामाको योगदान उल्लेखनीय छ।
संगीत संयोजन : परम्परा र आधुनिकताको सन्तुलन
गीतको एरेन्ज तथा मिक्सिङ दिपेश प्रधान (डिप स्टुडियो) ले गरेका हुन्। उनले परम्परागत धुनलाई नछोडी आधुनिक ध्वनि संयोजनमार्फत गीतलाई आजको पुस्ताका लागि सुहाउँदो बनाएका छन्। यही सन्तुलन नै ‘छन्त परेको’ को सबैभन्दा ठूलो विशेषता हो।
म्युजिक भिडियो : दृश्यमा बोल्ने संस्कृति
गीतको म्युजिक भिडियोले पनि तामाङ जीवनशैली, पहिरन, नृत्य र सामाजिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। भिडियोमा राजु लामा, रञ्जिता तामाङ, आरम्भ तामाङ र रमेश तामाङ मुख्य कलाकारका रूपमा देखिएका छन्।
अतिथि कलाकारका रूपमा बिगेन्द्र एस. वाइबा, लेक योञ्जन, सुमन तामाङ तथा झाँक्री समूहको उपस्थिति भिडियोको सांस्कृतिक गहिराइलाई थप मजबुत बनाएको छ।
निर्देशन र प्राविधिक पक्ष
भिडियो निर्देशन रोशन फ्युबा तामाङले गरेका हुन्। छायांकन, दृश्य सम्पादन तथा रङ संयोजन पवन सुस्लिङको जिम्मामा रहेको छ। सहायक छायांकनमा दिनेश सुवेदी, फोकसमा सोलोमन थापा मगर, कपाल तथा मेकअपमा सुभाष तिमिल्सिना संलग्न छन्।


नृत्य निर्देशन प्रतीक ङेश्युर र सहायक नृत्य निर्देशन अजय थिङले गरेका हुन् भने कलात्मक संयोजन जाता शङ्गारले गरेका छन्।
सांस्कृतिक महत्व र भावी प्रभाव
सांस्कृतिक अभियन्ताहरूका अनुसार, ‘छन्त परेको’ जस्तो सिर्जनाले लोपोन्मुख अवस्थामा पुगेका मौलिक तामाङ विधाहरूको पुनर्जागरणमा महत्वपूर्ण भूमिका खेल्नेछ। विशेषगरी, स्थापित कलाकारहरूको सहभागिताले युवा पुस्तालाई आफ्नै मौलिक संस्कृतिप्रति आकर्षित गर्ने विश्वास गरिएको छ।
संगीतमार्फत पहिचानको रक्षा
‘छन्त परेको’ केवल एउटा गीत होइन, तामाङ सांस्कृतिक पहिचानको पुनः उद्घोष हो। म्हेन्दोमायाजस्तो मौलिक विधामा राजु लामाको प्रवेशले परम्परा र आधुनिकताको पुल निर्माण गरेको छ। यसले तामाङ समुदाय मात्र होइन, सम्पूर्ण नेपाली सांगीतिक जगतलाई आफ्नो जरा सम्झाउने काम गरेको छ। -मानछिरिङ तामाङ (वहा लेखक तथा पत्रकार हुनुहुन्छ)

CHHANTA PAREKO VIDEO