Next »
« Previous

मौलिकताको खोजीमा गोपाल फ्युवा तामाङ


 गोपाल फ्युवा तामाङ
यही वैशाख २३ गते देखि २९ गते सम्म तामाङ मातृभाषा पढाउदै गरेका र पढाउने थालनी गर्न लागेका बच्छलादेवी स्रोतकेन्द्रका १५ ओटा विद्यालयका २५ शिक्षकशिक्षिकाहरूको लागि तामाङ मातृभाषी शिक्षक तालिम सञ्चालन गरिएको थियो । सो क्रममा तामाङ मातृभाषा पढेर के काम ? लगायतका जटिल तर संवेदनशील प्रश्नहरु सोधियो । अझ पश्चगामी प्रवृत्ति र कार्य भन्ने आरोप लाग्यो । तर जति जनाले तालिम पूरा गरें उहाँहरू तामाङ भाषी बाहुल्य रहेको १, २ र ३ कक्षामा प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ले व्यवस्था गरे बमोजिम १०० पूर्णाङ्क र साप्ताहिक पाठ्यभार ४ तामाङ मातृभाषा पढाउनेमा सहमत भए । तर मलाई तामाङ भाषा किन, पढेर के काम ? भन्ने प्रश्नले बोझिलो, खल्लो र असहज महसुस भयो । एउटा स्थानीय भाषा, संस्कृति र लोक साहित्यको खोजी गर्ने एक अभियन्तालाई यो भन्दा ठेस कहाँ लाग्न सक्छ र ?
तामाङ जाति नेपालका आदिवासी जनजाति हुन् । अझ आदिवासी कोटाको वकालत गर्ने ती प्रश्नकर्ताले हेक्का राखे कि राखेनन् कुन्नी आदिवासी जनजाति हुनलाई भाषा कति आवश्यक छ ? आफ्नो मातृभाषा भएको, परम्परागत रितिरिवाज भएको, छुट्टै सांस्कृतिक पहिचान भएको, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदायलाई मात्र आदिवासी जनजाति भनिन्छ । भनेर प्रष्ट पारेको छ । सकारात्मक विभेद आवश्यक छ भन्ने अनि तामाङ भाषा नपढाउ भन्ने विरोधाभाष भएन र ? सचेत र वर्तमानका कर्मठ व्यक्तिले तामाङ मातृभाषाको पठनपाठनको विरोध गरे भाषाको अवस्था कस्तो होला । जबसम्म मौखिक भाषालाई लेख्य रुप दिइदैन तबसम्म भाषाको सम्वृद्धि र विकास सम्भव छैन । मातृभाषा प्रतिको उपेक्षा यो एक नमुना मात्र हो । भाषिक अभियानमा लाग्दा यस प्रकारका कैयन सङ्गिन प्रश्नहरूको सामना गर्नु परेको छ । नीतिगतरुपमा दरो व्यवस्था भए पनि मातृभाषामा शिक्षाको अवस्था राम्रो छैन । कक्षा ६ र ७ मा मातृभाषाको लागि १०० पूर्णाङ्क छुट्याए पनि कम्प्युटर शिक्षालाई अनिवार्य जस्तै बनाइएको छ । यो भन्दा निकृष्ट विभेदको उदाहरण अरु के होला ?
कुरा भाषाबाट उठान भए पनि समस्या भाषाको मात्रै होइन । भेषभुषा, रहनसहन, रीतिरिवाज, संस्कार संस्कृति सबैमा परिवर्तन गरेका छन् । धेरै शिक्षित, भद्रभलाद्मी एवम् राजनीतिकर्मीलाई तामाङ भाषा बोल्नै आउदैन । सडक, सदन र सरकारमा तामाङको वकालत गर्छन् । ताम्सालिङ क्षेत्रका जनताको अधिकार स्थापित गर्छु भनेर अन्य भाषामा प्रतिवद्धता जनाँउछन् । तर ती नेतालाई थाहा छ कि छैन जनताको अधिकार पहिचानसँग जोडिएको हुन्छ । जातीय पहिचान भाषा, भेषभुषा र संस्कृतिमा अडिएको छ । संविधान सभामा विजयी एक तामाङ सभासदले हाम्रो भेषभुषा के हो ? भन्ने प्रश्न पो गरे । अब हामी के अपेक्षा राख्न सक्छौ वहाँबाट ? आफ्ना छोराछोरीलाई तामाङको गन्ध पनि नआउने विद्यालयमा पढाएर पर संस्कृति ग्रहण गर्न लगाउने जनतालाई यसो गर उसो गर भन्ने नेताजीको भाषण मात्र चुनावी हुन् अझ कार्यकर्तालाई गुलाम बनाउने मानसिकताबाट ऊ प्रेरित छ । अबको युवा पुस्ता पट मूर्ख हुनु हुदैन । भाषणबाट अघाएका छां,ै व्यवहारको अपेक्षा गरिनु पर्दछ । पहिचानको सुरुवात माथिबाट हैन तलबाट गरिनु पर्छ । त्यस्को लागि संविधानले व्यवस्था गरेको मातृभाषामा शिक्षा पाउने व्यवस्थाको कार्यन्वयन आवश्यक छ ।
ताम्सालिङ क्षेत्रका तामाङहरूले आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषालाई थोरै मात्रामा भए पनि जोगाउने प्रयास गरिरहेका छन् । तर धेरै युवाहरू विदेशमा गइरहेका छन् । पढाइका लागि गएकाभन्दा कामको लागि गएकाको जमात ठूलो छ । सीप, ज्ञान र दक्षता प्रयोग गरेर परम्परागत व्यवसायलाई अझ व्यवस्थीत, व्यवसायिक र वैज्ञानिक तवरले गरिने हो भने यही प्रसस्त आर्थिक उपार्जन गर्न सकिन्छ । अझ तामाङहरू जडिबुटी, पशुपालन सम्बन्धी र हस्तकलाका सामग्री निर्माणमा अरुभन्दा बढी पारङ्गत छन् । जटिबुटीको पहिचान गर्न नसकी कवाडीको मूल्यमा धमाधम विदेशमा पठाइरहेका छौं । सो सम्बन्धी अध्ययन अनुसन्धान गर्न ठूलै जमातको आवश्यकता देखिएता पनि तत्कालको आवश्यकता पूर्ति गर्न विदेश गइरहेको तमाम दृष्य हामी हेर्न बाध्य छौं । अब सचेत हुन जरुरी छ ।
परिवर्तन सकारात्मकता तर्फ उन्मुख हुनु पर्दछ । परिवर्तन समय मुताविक हुनु पर्दछ । परिवर्तनको नाममा पहिचान गुमाउने हुनु हुदैन । हरेक क्षेत्रमा परिवर्तनसँगै तामाङहरु पिल्सिरहेका छन् । तैपनि यही भित्रबाट केही दमित आवाजहरु उठिरहेका छन् । भेषभुषा, रहनसहन, सामाजिक संस्कार, संस्कृति, भाषा र चालचलन बचाउ गर्न लागि परेका छन् । तर यस प्रकारको आवाजहरू बुलन्त पार्नु पर्दछ भनी साथ दिनेहरुको कमि छ । प्रोत्साहन छैन । परम्परा र संस्कृतिको नाममा रहेको अन्धविश्वास, ढोंग, आडम्बर र विकृतिहरूको पहिचान गरि हटाउनु पर्दछ । विभिन्न वाद, सिद्धान्तमा विभाजन गराइदिएर सिमित स्वार्थ पुरा गर्ने सामन्तीहरूको कुटिल चाल बुझ्नु पर्दछ । त्यसको लागि उचित र सही शिक्षा ग्रहण गर्नु पर्दछ ।
हामीसँग विभितताहरू छन् । विशेषताहरू पनि छन् । ति विभितताभित्रको विशेषताहरू किन खोजिदैनन् ? विभिततामा विभेद मात्र किन देख्छौ ? लिपी, भेषभुषा, संस्कार, संस्कृतिको विवादमा तामाङ बौद्धिक जमातलाई ग्रान्ड डिजाइनका साथ लडाइरहेकै छन् । घोडचढी नाचलाई नेपालको ऐतिहासिक युद्धकला नाच भनि दर्ता गराउन लाग्दा तामाङभित्रै विवाद किन ? म्हाने व्हाइमा नाचिने दोरा नाचलाई एकता नाच भन्दा अरुलाई किन टाउको दुखाई ? यावत प्रश्नहरू साधारणतया तामाङ समाज नजिकैबाट नियालिरहेका गैर तामाङहरूलाई लागिरहेको हुन सक्छ । तामाङ भित्रकै ठूलै जमात यस प्रकारका कृयाकलापले प्रयासमा दोब्बर पार्नुको सट्टा निरुत्साहित भएर पुच्छर लुकाउन थालेको हुन सक्छ । सत्यको अन्वेषण हुन परीक्षणहरू गरिनु पर्दछ तर हरेक कुरामा तर्क मात्र गरेर हुने वाला छैन । यी बाहिर छताछुल्ल भएका प्रश्नहरूको उत्तर दिन तामाङका नेता बुद्धिजीवि तथा विशेषज्ञहरूबाट मौलिकताको खोजी हुनु पर्दछ । अर्थ, प्रभाव र विश्लेषणमा मात्र नअल्झिई विभितता भित्रको विशेषतामा ध्यान केन्द्रीत हुनु जरुरी छ ।
तामाङहरू दरवाना बन्न किन तयार हुन्छन् ? विदेशी गुलाम हुन किन स्विकार्छन् ? हली, बाधा, नोकर बन्न किन तयार छन् ? १५ महिने तालिम लिएर किन वहुराष्टिय कम्पनीको औषधी बेच्ने एजेन्ट हुँदा डाक्टर भएको आत्म गौरव गर्छन् ? मेसन, प्लम्बर तालिम लिएर धनीको घरमा जोखिम पूर्ण श्रम गर्दछन् ? किन तामाङ मुक्तिको प्रकासमय सेना हुन चाहदैनन् ? किन संस्कृति भुल्दछन् ? किन नेतृत्वमा पुग्दैनन् ? किन पुरानो पुस्तासँग रहेको जटीबुटी सम्बन्धि ज्ञान लिएर आम्ची हुन चाँहदैनन् ? किन हलो, जुँवा बनाउने, डोको, डालो बुन्ने, राँडी पाखी बुन्ने, नेपाली कागज बनाउने र भाङ्ग्राबाट कपडा बनाउने तालिम लिन चाहदैनन् ? यदी हामी तामाङहरूको यही सोंच र प्रवृत्ति रहिरह्यो भने हाम्रा परम्परागत सीप, दक्षता र अनुभवहरू सिद्धिनेछन् । त्यसपछि तारे होटलहरूमा देखाउने दात पनि पाउने छैनन् , हरेक मौलिकता सिध्याएर के हामी आदिवासी जनजाति हौं भनिरहन सक्छौ ?
प्रत्यक राजनीतिक दलहरुले तामाङहरूलाई उपयोग मात्र गरिरहेका छन् । उनीहरुको प्रयोगले पार्टीको दायरा फराकिलो पारेका छन् । उच्च नेतृत्वमा रहेकाहरुले तामाङ जातिको पहिचान मात्र खोरिया फार्ने देखिरहेकाछन् । त्यस कारण वाद र सिद्धान्तलाई जातीय स्वार्थ मुताविक प्रयोग गर्न र गराउन पहल कदमी लिन सक्नु पर्दछ ।
विगतबाट पाठ सिक्नुपर्दछ । हाम्रो खोजी मौलिकता हुनु पर्दछ । शुद्धताको मापन हुनु पर्दछ । जस्को लागि वैज्ञानिक अध्ययन आवश्यक छ । मौलिकताको खोजीबाट आएको निष्कर्षलाई ग्रामिण तहका सर्वसाधरण सम्म विकेन्द्रित गर्न सक्यौ भने उठान भउको प्रश्नको उत्तर सजिलै निस्कन्छ । नभए आइएलओ १६९को अनुच्छेद २८मा मातृभाषामा लेखन पढ्न पाउने व्यवस्था लेखोट मात्र हुनेछ । यसको कार्यन्वयन गराउन विभित दवाव समूहले महत्त्वपूर्ण कार्य गर्नुपर्दछ ।
 
(लेखक गोपाल फ्युवा तामाङ रोडा समूहका निर्देशक र संस्कृतिका लागि युवा अभियानका संयोजक तथा तामाङ लोक साहित्यका अध्ययन, अनुसन्धान गर्ने एक अभियन्ता हुन् ।)

Attachments#
No files