फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ’ दयाहाङ राई

काठमाडौं, जेठ १३ गते । नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताउनुभएको छ । शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म निर्माणको समयको नालीबेली सुनाउनु भएको थियो ।

‘‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ,’’ उहाँले भन्नुभयो, ‘‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा चलचित्रहरूमध्ये यो पनि एक हुनेछ । मौलिक विषयवस्तुलाई मौलिक ढङ्गले नै पस्किन खोजिएको छ, चलचित्र हो यो ।’’

संचारकर्मीसँगको कुरामा उहाँले हाल प्रदर्शन भइरहेको आफ्नै अर्को चलचित्र ‘जारी’को समेत सन्दर्भ उप्काउँदै लिम्बु समुदायको सांस्कृतिकता ‘जारी’ मा आएजस्तै ‘नीरफूल’ मा पनि त्यस्तै फरक समुदायको सांस्कृतिक स्वाद पाइने दाबी गर्नुभएको छ । ‘‘चलचित्रमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु,’’ उहाँले भन्नुभयो, ‘‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ ।’’

कार्यक्रममा अभिनेता बुद्धि तामाङ, अभिनेत्री शान्ति वाइबा, बाल कलाकार जिग्मे छ्योकी लगायतले फिल्म निर्माणको बेलाको अनुभव सुनाउनुभयो । नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुनुहुन्छ ।

यसैगरी, फिल्मलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गर्नुभएको हो ।

चलचित्रको पटकथा फुलमान बल सचिन घिमिरेले लेख्नुभएको हो भने प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको सङ्गीत रहेको छ । यही जेठ २६ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाउनुभएको छ ।

By | 2023-05-28T13:19:58+00:00 May 28th, 2023|समाचार|